काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ पहिलोको ६ महिनाको अवधिमा नेपालमा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका तथ्यांक अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन्। दर्तामध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४ उद्योग दर्ता भएको देखिएको छ।
अटोमेटिक रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ । योसँगै नेपालमा कुल वैदेशिक लगानी ५ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ। साना उद्योग संख्या ३ सय ४५ छ। मझौला उद्योग संख्या ५ र ठूला उद्योग ४ रहेको विभागको तथ्यांक छ।
यो अवधिमा आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटन क्षेत्रमा ठूलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल संख्याको ४४ प्रतिशत हो । त्यस्तै, सूचना प्रविधिमा १ सय १९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग दर्ता भएको देखिन्छ भने पूर्वाधारमा २ उद्योग दर्ता भएको विभागले जनाएको छ ।


































