काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) प्राथमिक निष्कासनको स्वरुपमा फेरबदल गर्न अहिले प्रक्रियाको पुनरावलोकन गर्ने तयारीमा लागेको छ ।
सेबोनले चार सदस्यीय अध्ययन समिति गठन गरेर प्रारम्भिक निष्कासन प्रक्रियामा परिवर्तन ल्याउन तयारी थालेको छ । सेबोनका बोर्ड सदस्य प्रवीणकुमार झाको नेतृत्वको टोलीमा बोर्डबाट थप एक जना र नेप्से महाशाखाका दुई प्रतिनिधि राखिएको सेबोनको जानकारी छ ।
अध्ययन समितिले हाल न्यूनतम १० प्रतिशत रहेको सार्वजनिक निष्कासनको अनुपात बढाएर १० कित्ते नीतिलाई समेत फेरबदल गर्नसक्ने जनाइएको छ ।
सार्वजनिक निष्कासनको अनुपात बढेपछि त्यसै अनुसारको बढ्दो अनुपातमा सर्वसाधारणले लगानी बढाउनुपर्नेछ । यसो गर्दा १० कित्ते नीतिलाई हेरफेर नै नगरी पनि १० कित्ता भन्दा धेरै कित्ता आवेदन दिन लगानीकर्तालाई स्वत अवसर मिल्ने देखिन्छ।
आजबाट बोर्डले नेप्सेमा सूचीकृत कम्पनीले लकइन पिरियड खुल्नु एक महिनापूर्व नै सार्वजनिक सूचनामार्फत लगानीकर्तालाई जानकारी गराउनुपर्ने नियम लागू गरेको छ ।






























