काठमाडौँ। सहकारी ठगीको आरोप भारतमा समातिएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौँ ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मेयर नेपालीलाई शनिवार काठमाडौँ ल्याएको हो ।
नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ संस्थापक अध्यक्ष तथा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत समेत रहेका नेपालीलाई सहकारी ऐन २०७४ अन्तर्गतको कसुरमा पक्राउ गर्नका लागि बागलुङ जिल्ला अदालतबाट २०८० जेठ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।
केही सञ्चार माध्यममा मेयर नेपालीलाई भारतबाट प्रकाउगरि बागलुङ पुर्याइयो भनेर समाचार बाहिरिएको भएपनी मेयर नेपालीलाई बागलुङ नल्याइएको र ल्याउने विषयमा समेत कुनै जानकारी नअनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।
काठमाडौँमा ल्याएर सीआईबीको टीमले छानबिन गर्दै गरेको जानकारी आएको हो तर स्वयम व्यक्तिलाई नै बागलुङ ल्याइयो भन्ने कुराचाहिँ झुटो हो कँडेलले भने । मेयर नेपाली विरुद्ध २०८० माघ १० गते रेड कर्नर नोटिस जारी भएको थियो। उनीसँगै इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङको ठगीमा संलग्न रहेको आरोप लागेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ ।


































