काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको वर्तमान वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । । जस अनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो ।
प्रतिवेदनअनुसार २०८१ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ। यस्तै, सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/11/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Months-data-of-2081.82.pdf"]

































