काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । लगातार दुई कारोबारका दिन फराकिलो अंकले गिरावट आएको बजारमा आज भने सुधार देखिएको हो । सरकार परिवर्तनको हल्ला फैलिएसँगै शेयर बजारमा घटबढको प्रक्रिया सुरु भएको केही जानकारहरूको भनाई छ ।
आज मंगलवारका दिन बजार २५.८८ अंकले बढेर २६६५.८१ को विन्दुमा कायम भएको छ ।
कारोबारसँगै आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ। त्यस्तै , आज रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक बढेको छ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.८६ प्रतिशतले बढेको छ। त्यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ७.८२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.३६ प्रतिशत, महुली लघुवित्तको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ।
आज बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशतसहित १३ वटै सूचकमा सुधार देखिएको हो । मंगलबार १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४० कम्पनीको मात्र घटेको छ ।

































