काठमाडौँ । रिडी पावर कम्पनीका पूर्व अध्यक्ष समेत रहेका गुरुप्रसाद न्यौपाने अन्ततः सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् ।
विशेष अदालतले न्यौपानेलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १५ चैतमा पेस गर्न आदेश दिएको छ ।
विशेष अदालतले आगामी १५ चैतमा उनीहरूमाथि हुने सजाय निर्धारण गरी बिगो र जरिवाना समेत तोक्नेछ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ।
शेयर खरिद बिक्री गरी गैर कानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।



































