काठमाडौँ । सरकारले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
भू उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को ञ बमोजिम संघीय भूपू योगको सदस्यमा डा रेवतीरमण पौडेल (चितवन), डा.यमुना घले (चितवन),रेश्मा श्रेष्ठ (काठमाडौँ) र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी सरकारका नाममा दर्ता रहेको सिराहाको नवराजपुर वडानम्बर ४ को १९ कट्ठा जग्गा इलाका प्रहरी कार्यालयलाई प्रयोग गर्न स्वीकृत गर्ने, नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका तथा पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनसम्बन्धी कार्यायोजना सरकारले स्वीकृत गरेको छ ।


































