काठमाडौँ । गत साता २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.३० प्रतिशत अर्थात् १८७.४९ अंक बढेर २७५५.६२ विन्दुमा बन्द भएको छ ।
साताभरमा भएको ५ कारोबार दिनमध्ये यस साता ३ कारोबार दिन नेप्से बढेको हो । भने २ कारोबार दिन सामान्य अंकले घटेको थियो। साताको पहिलो कारोबार दिन नै नेप्से एकै दिन ११३ अंक बढेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ७.११ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ७.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.३३ प्रतिशत बढेको छ। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ।
गत साता दैनिक औषतमा १४ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १९ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस साता नेप्सेले कारोबार रकममा अल टाइम हाइ रेकर्ड बनाएको छ। यस साताको बुधवार २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो। त्यस्तै, साताको अन्तिम कारोबार दिन २१ अर्ब ७१ करोडको शेयर कारोबार भएको थियो।
१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २०.३२ प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०७७.९३ अंक बढेको छ।
यस साता सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा नेपाल फाइनान्स रहेको छ। सो फाइनान्सको शेयर मूल्य यस साता ५५.०८ प्रतिशत बढेको हो। त्यस्तै, यस साता प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य करिब साढे ३२ प्रतिशत बढेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य साढे ३१ प्रतिशतभन्दा बढी बढेको छ।


































