काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।
उक्त कार्यालयले ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको प्रकाशित सूचनामा उल्लेख गरेको छ । असार ११ गते मङ्गलवार दिन जारी हुने यस ट्रेजरी बिलका लागि आज असार १० गते दिउँसो ३ बजे बोलकबोल गरिने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो।
यो ट्रेजरी २०८२ असार १० गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।


































