काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।
२८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ। मंगलबार (मङ्सिर ११ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार मङ्सिर १० गते दिउँसो २ बजे उक्त ट्रेजरी बोलकबोल हुने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो।
साथै, १८२ दिनका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८२ जेठ १३ गते परिपक्व हुनेछ । बाकी १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ मङ्सिर ९ गते परिपक्व हुनेछ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई प्राथमिकतामा राखी आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ ।


































