काठमाडौँ । वित्तीय क्षेत्रमा अत्यधिक प्रयोग हुने शब्द हो ट्रेजरी बिल यो विषयमा हामी धेरैलाई थाहा नहुन सक्छ कि के हो ट्रेजरी बिल भनेको भनेर साथै यो किन निस्कासन गरिन्छ भन्ने अर्को पनि प्रश्नसँगै जोडिएको छ । वास्तवमा एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्रलाई नै ट्रेजरी बिल भनेर बुझिन्छ । यो २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।
यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकताअनुसार निष्कासन गरिन्छन् ।
एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।
ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तीमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुटाइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइँदैन।अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकम मात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ ।
एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन । ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी बापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्र ऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ ।
बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी बापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ ।
बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकोले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा ऋणपत्र विक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्दछ ।


































