काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको करिब २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, विकास बैंकहरुमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ५५ लाख गरी कुल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
केन्द्रीय बैंकले उक्त निक्षेप २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले चैत ८ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।
केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम राख्न खोजेको हो । त्यसैगरी, निक्षेप लिनको लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने सर्तहरू तोकिएको छ ।


































