काठमाडौं । सरकारले उठाउने ऋण अब प्रतिफल दिने र उत्पादनशील क्षेत्रमा मात्रै केन्द्रित गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलका क्रममा यस्तो स्पष्ट पारेका हुन्।
उनले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गरिँदा सार्वजनिक ऋणको भार तीव्र रूपमा बढेको उल्लेख गर्दै पछिल्ला सात–आठ वर्षमा औसत वार्षिक १८ प्रतिशतको दरले ऋण वृद्धि भएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले आवश्यक तथा प्रतिफलमुखी आयोजनामा लगानीका लागि ऋण लिनुपर्ने अवस्था रहेको बताउँदै चालु वर्ष सरकारले ठूलो परिमाणमा ऋण उठाउने योजना रहेको स्पष्ट पारे। उनका अनुसार करिब साढे ६ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने तयारी गरिएको छ, जसको ठूलो हिस्सा पुरानो ऋण भुक्तानीमै खर्च हुनेछ।
आन्तरिकतर्फ करिब ४१० अर्ब रुपैयाँ ऋण उठाइने र २४६ अर्ब रुपैयाँ तिर्ने योजना रहेको उनले बताए। त्यस्तै वैदेशिकतर्फ २४७ अर्ब रुपैयाँ ऋण लिने र ७२ अर्ब रुपैयाँ भुक्तानी गरिनेछ। यसरी समग्र ऋण व्यवस्थापन गर्दा कुल सार्वजनिक ऋण करिब ३० खर्बबाट बढेर ३३ खर्ब रुपैयाँ आसपास पुग्ने अनुमान गरिएको छ।
यद्यपि अर्थमन्त्री वाग्लेले ऋण बढे पनि अर्थतन्त्रको आकार विस्तारसँगै ‘डेब्ट–टु–जीडीपी अनुपात’ स्थिर रहने दाबी गरे। उनले मुलुकको अर्थतन्त्रलाई हालको करिब ६६ खर्ब रुपैयाँबाट बढाएर ७४ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिए।


































