काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतसँग आर्थिक सहकार्य विस्तार, भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग तथा नेपालमा भारतीय लगानी प्रवर्द्धनका विषयलाई प्राथमिकतामा राख्दै तीनदिने भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।
भारत सरकारको निमन्त्रणामा बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा नेपालले भोटेकोशी बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि भारतसँग थप सहयोग तथा सहकार्यको प्रस्ताव गरेको थियो। बाढीपछि उद्धार तथा राहतमा भारतले गरेको सहयोगप्रति पनि अर्थमन्त्री वाग्लेले नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए।
अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धलाई राजनीतिक र कूटनीतिक सम्बन्धमा मात्र सीमित नराखी आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। ऊर्जा, पूर्वाधार, व्यापार, लगानी तथा कनेक्टिभिटीलगायत क्षेत्रमा सहकार्य बढाउने विषय उनले प्राथमिकताका साथ उठाएका थिए।
भारतीय अर्थमन्त्री सीतारमणसँगको भेटमा दुई देशबीचको आर्थिक सहकार्यका विभिन्न पक्षबारे छलफल भएको थियो। त्यसैगरी, विदेशमन्त्री जयशङ्करसँगको भेटमा नेपाल–भारतबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा पूर्वविदेशसचिव श्यामशरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्याउनुपर्ने बताएका थिए। उनले व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीलाई दुई देशबीचको आर्थिक सहकार्यका प्रमुख आधारका रूपमा प्रस्तुत गरेका थिए।
भारतीय उद्योगी–व्यवसायीसँगको भेटलाई पनि भ्रमणमा प्राथमिकता दिइएको थियो। भारत व्यापार प्रवर्द्धन सङ्गठनका अध्यक्ष जावेद असरफले आयोजना गरेको भेटघाट तथा भारतीय उद्योग परिसङ्घको कार्यक्रममा सहभागी हुँदै वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा नयाँ लगानी गर्न र नेपालमा सञ्चालनमा रहेका कम्पनीलाई लगानी विस्तार गर्न आग्रह गरेका थिए।
भारतीय उद्योग परिसङ्घको कार्यक्रममा उनले ऊर्जा, उत्पादनमूलक उद्योग, डिजिटल अर्थतन्त्र, उच्च मूल्यका कृषि उत्पादन, पर्यटन तथा प्रविधिलगायत क्षेत्रमा नेपालमा लगानीका अवसर रहेको बताएका थिए। नेपाललाई भारतीय व्यवसायीले बजारका रूपमा मात्र नभई उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय आपूर्ति शृङ्खलासँग जोडिने साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
वाग्लेले नेपालमा लगानीको वातावरण सुधारका लागि नीतिगत स्थिरता, पारदर्शिता, लगानी सहजीकरण तथा संरचनागत आर्थिक सुधारमा सरकार केन्द्रित रहेको बताएका थिए। भारतीय लगानीकर्तालाई नेपालमा नयाँ अवसर खोज्न आग्रह गर्दै उनले विद्यमान लगानी विस्तारका लागि समेत सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरूको प्रतिनिधिमण्डलसँग पनि भेट गरेका थिए। दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी हुँदै उनले नेपालको आर्थिक विकास र रूपान्तरणका विषयमा धारणा राखेका थिए।
संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सहभागी भएपछि अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किएका हुन्। छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका वाग्लेसँग मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए।
अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र आर्थिक संवादले नेपाल–भारत सम्बन्धमा पुनर्निर्माण, ऊर्जा, व्यापार र लगानीलाई आर्थिक सहकार्यका प्रमुख एजेन्डाका रूपमा अघि बढाएको छ।


































