काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयले सञ्चालन गरिरहेको ‘बजेट कार्यान्वयन संवाद शृङ्खला’ अन्तर्गत मन्त्रालयको सभाहलमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। छलफल बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले चालु बजेटमार्फत अघि सारेका नीति तथा कार्यक्रम, तिनको कार्यान्वयन अवस्था र त्यसलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल हुनेछ।
त्यसैगरी, युवा उद्यमीहरूले सञ्चालन गरिरहेका व्यवसाय, उनीहरूले सामना गरिरहेका चुनौती तथा सरकारले नीतिगत र व्यावहारिक रूपमा गर्नुपर्ने सहजीकरणका विषयमा पनि अर्थमन्त्री वाग्लेले धारणा राख्नेछन्।
कार्यक्रमलाई सूचना प्रविधि क्षेत्रका युवा उद्यमीका आवश्यकता र अपेक्षा बुझ्ने अवसरका रूपमा समेत लिइएको छ। सहभागी उद्यमीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित समस्या, आगामी योजना तथा सरकारले गर्नुपर्ने नीतिगत सुधारबारे मौखिक र लिखित सुझाव प्रस्तुत गर्नेछन्।
सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवादमार्फत बजेटमा समेटिएका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।


































