काठमाडौं । चाडपर्वका कारण अर्थतन्त्रमा देखिएको उत्साहलाई निरन्तरता दिन सरकारले विकास बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अर्थविद् नरबहादुर थापाले बताएका छन्। बजेटमा विनियोजित परियोजनाहरूको काम तीव्र गतिमा अघि बढाउन सके निजी क्षेत्रको लगानी आकर्षित हुनुका साथै आर्थिक गतिविधि थप चलायमान हुने उनको भनाइ छ।
आर्थिक भ्वाइससँगको कुराकानीमा अर्थविद् थापाले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वका कारण पछिल्लो समय अर्थतन्त्रमा केही उत्साह देखिएको बताए। चाडपर्वका बेला कर्मचारीले अतिरिक्त एक महिनाको तलब पाउने र त्यसअनुसार खर्च गर्ने भएकाले बजारमा अन्य समयभन्दा आर्थिक गतिविधि बढ्ने उनको विश्लेषण छ।
तर, चाडपर्व सकिएपछि अर्थतन्त्रको गति कस्तो रहने भन्ने विषय सरकारको बजेट कार्यान्वयन र विकास खर्चमा निर्भर हुने उनले बताए।
चाडपर्वपछि कृषि र निर्माण क्षेत्रले बढाउने आर्थिक गतिविधि
अर्थविद् थापाका अनुसार चाडपर्वपछि अर्थतन्त्रमा कृषि र निर्माण क्षेत्रको गतिविधि बढ्ने समय सुरु हुन्छ। आर्थिक वर्षको सुरुवातमा वर्षायाम र त्यसपछि चाडपर्व पर्ने भएकाले विकास निर्माणका कामले अपेक्षित गति लिन पाउँदैनन्। तर, चाडपर्व सकिएपछि ठेक्का प्रक्रिया पूरा भएका आयोजनाहरू निर्माण चरणमा प्रवेश गर्ने गर्छन्।
यस अवधिमा कृषि उपज पनि बजारमा आउने भएकाले किसानको हातमा पैसा पुग्छ। आगामी दुईदेखि तीन महिना कृषि उपजको कारोबारले बजारमा आर्थिक गतिविधि बढाउने उनको भनाइ छ।
किसानले आफ्ना उत्पादन बिक्री गरेर आम्दानी गर्ने र सरकारले विकास आयोजनाको काम अघि बढाउने भएकाले चाडपर्वपछिको समय अर्थतन्त्रका लागि महत्वपूर्ण हुने उनले बताए।
बैंकमा थुप्रिएको तरलता उपयोग गर्न ठूला आयोजना आवश्यक
नेपालको बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको थापाको विश्लेषण छ। बैंकमा रहेको तरलता साना तथा मझौला कर्जा प्रवाहबाट मात्रै पूर्ण रूपमा उपयोग नहुने भन्दै उनले ठूला र मेगा परियोजनाको आवश्यकता औँल्याए।
उनका अनुसार रेमिट्यान्सबाट सिर्जित तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न ठूला पूर्वाधार तथा विकास आयोजना अघि बढाउनुपर्छ।
उनले भने, “कसैले एक–दुई अर्ब वा करोड ऋण लिँदैमा तरलताको सदुपयोग हुँदैन, हात्तीको मुखमा जीरा जस्तै हुन्छ। जबसम्म हामी मेगा प्रोजेक्ट र ठूला–ठूला परियोजना लागू गर्दैनौँ, तबसम्म रेमिट्यान्सका कारण सिर्जित तरलता उपयोग हुने देखिँदैन।”
त्यस्तै, रियलस्टेट क्षेत्रमा पनि अपेक्षाअनुसार कर्जा प्रवाह हुन नसकेको उनले बताए। रियलस्टेट क्षेत्रलाई चलायमान बनाउने परम्परागत आधारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनले नयाँ ढङ्गले यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए।
विपद्पछिको पुनर्निर्माणमा पनि अवसर
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै थापाले विपद्का बेला सरकारले तदारुकताका साथ काम गरेको देखिएको बताए।
विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाउन सके त्यसले आर्थिक गतिविधि विस्तारमा पनि योगदान पुर्याउन सक्ने उनको विश्लेषण छ।
बजेट कार्यान्वयन नै अर्थतन्त्र सुधारको मुख्य आधार
अर्थविद् थापाले तत्काल अर्थतन्त्र सुधार गर्न सरकारले नयाँ कार्यक्रम घोषणा गर्नुभन्दा पनि विनियोजित बजेटअनुसारका परियोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
बजेटमा रकम छुट्याइएका आयोजनाहरूको काम समयमै सुरु गर्ने, ठेक्का प्रक्रिया पूरा भएका परियोजनालाई तीव्रता दिने र विकास खर्चका लागि आवश्यक स्रोतको अभाव हुन नदिने काम सरकारले गर्नुपर्ने उनको सुझाव छ।
सरकारले बजेटमा समावेश गरेका कार्यक्रम र नीतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सके निजी क्षेत्रको लगानी आकर्षित हुने र आर्थिक गतिविधिमा वृद्धि हुने उनले बताए।
“बजेटमा भएका व्यवस्थाहरू इमानदारीपूर्वक लागू गर्ने र युद्धस्तरमा बजेटको कार्यान्वयन भयो भने अर्थतन्त्रले एक किसिमले गति लिन्छ,” थापाले भने।
उनका अनुसार अहिले बैंकिङ क्षेत्रमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न, निर्माण तथा कृषि गतिविधि विस्तार गर्न र निजी क्षेत्रको मनोबल बढाउन सरकारको प्रभावकारी बजेट कार्यान्वयन आवश्यक छ।


































