काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सरकारले आन्तरिक स्रोतबाट उल्लेख्य राजस्व संकलन गरेको छ। आन्तरिक राजस्व विभागको विवरणअनुसार उक्त अवधिमा कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको हो, जसमा आयकरको योगदान सबैभन्दा बढी देखिएको छ।
विभागका अनुसार गत आर्थिक वर्षमा आयकरबाट २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ७.२२ प्रतिशतले बढी हो।
त्यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा पनि वृद्धि देखिएको छ। गत वर्ष १ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ भ्याट उठेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ४६ अर्ब ८७ करोड रुपैयाँको तुलनामा ३.८६ प्रतिशतले बढी हो।
अन्तःशुल्कतर्फ पनि सकारात्मक प्रगति भएको छ। आन्तरिकतर्फ गत वर्ष १ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब २२ अर्ब ३ करोड रुपैयाँको तुलनामा करिब ११ प्रतिशतले बढी हो।
यसैगरी स्वास्थ्य सेवा करतर्फ उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष ६ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको स्वास्थ्य सेवा कर अघिल्लो वर्षको ३ अर्ब ६१ करोड रुपैयाँको तुलनामा उल्लेख्य रूपमा बढेको हो। यस शीर्षकअन्तर्गत स्वास्थ्य जोखिमयुक्त वस्तुहरूमा लाग्ने कर समावेश हुने गर्दछ।
शिक्षा सेवा शुल्कतर्फ पनि सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँ संकलन भएकोमा गत वर्ष यो बढेर ३ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
































