काठमाडौँ। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट भारततर्फ १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्राधिकरणले एक वर्षमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ। शुख्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युगृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो ।
त्यस्तै गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको तथ्याकंमा उल्लेख छ । ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको देखिएको छ । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल बिद्युतको खुद निर्यातकर्ता बनेको प्राधिकरण जानकारी दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेता पनि अब निर्यातको परिमाण बढ्दै जानेमा शकां नरहेको जानकारी दिएका छन् ।


































