काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन-भदौ)मा मात्रै ठूलो मात्रामा नेपाली अर्थतन्त्रको शैक्षिक पलायन भएको छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय स्थिति अनुसार पहिलो दुई महिना साउन र भदौमा मात्रै शिक्षाका लागि भन्दै २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ ।
गत आर्थिक वर्षको सुरु दुई महिनामा शिक्षाका लागि १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । यो वर्ष त्यो झण्डै दोब्बर भएको छ ।
नेपालमा पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश जाने नेपालीको खर्च धेरै देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ छ । अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो ।
यो वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र छ । यो गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९ प्रतिशत बढी हो । भ्रमण व्यय समेत ७६.५ प्रतिशतले वृद्धि हुँदा यो वर्ष खुद सेवा आय उच्च घाटामा रहेको छ ।


































