काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ४० करोड रुपैयाँको बिजुली निर्यात गरेको छ।
प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिभन्दा ४७.९७ प्रतिशत बढी रुपैयाँको बिजुली निर्यात गरको हो। राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार गत वर्ष साउनदेखि पुस मसान्तसम्म ६ महिनामा प्राधिकरणले ८ अर्ब ३८ करोड रुपैयाँको बिजुली निर्यात गरेको उल्लेख छ ।
चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणबाट गत आर्थिक वर्षभरीमा निर्यात भएको बिजुलीभन्दा १९ प्रतिशत बढी बिजुली निकासी भएको छ । त्यस्तै गत आर्थिक वर्षभरीमा १० अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै बिजुली निकासी भएको थियो । नेपालमा नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत परियोजना धेरै भएकाले बर्खायाममा बिजुली निकासीमा वृद्धि हुने गर्दछ।
निजी क्षेत्रले निर्माण गरेका परियोजनाबाट उत्पादित बिजुली आइएक्सको प्रणालीबाट बिक्री गर्न भारत सरकारले अनुमति दिएपछि नेपालबाट निर्यात हुने बिजुली बढेको प्राधिकरणको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा भारततर्फ निकासी हुने बिजुलीमा उल्लेख्य वृद्धि हुँदा भारतबाट आयात हुने बिजुली १३ प्रतिशतले घटेको छ । नेपालको आन्तरिक उत्पादनले पिक आवर (विहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ९ बजेसम्म ) को माग धान्न नसक्ने भएकाले प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने गरेको छ ।
पछिल्लो समय प्राधिकरणले पिक आवरमा बजारको मागअनुसार बिजुली आयात नगरी उद्योगलाई ८ घण्टा लोडसेडिङमा राखेकाले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने बिजुली घटेको प्राधिकरणको जानकारी छ । चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले २ अर्ब ७३ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको छ । गत वर्ष सोही अवधिमा ३ अर्ब १४ करोड रुपैयाँ बराबरको बिजुली आयात भएको थियो ।
नेपालमा खुख्यायाम सुरुभएपछि माघदेखि असारसम्म भारतबाट धेरै बिजुली आयात हुने भएकाले गत आर्थिक वर्षभरीमा १९ अर्ब ९ करोड रुपैयाँ बराबर बिजुली आयात भएको थियो । जुन अघिल्लो वर्ष भन्दा ३२.२९ प्रतिशत बढी हो । अघिल्लो वर्ष साउनदेखि पुस सम्म २ अर्ब २० करोड रुपैयाँको र वर्षभरीमा १४ अर्ब ४३ करोड रुपैयाँ बराबर बिजुली आयात भएको थियो ।


































