काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार विज्ञप्ति जारी गरी पार्टी भवनका लागि प्राप्त भएको जग्गामा कुनै सौदाबाजी र लेनादेना नभएको भन्दै यसबारे आएका टीकाटिप्पणी खेदजनक भएको बताएका छन् ।
७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य रहेको कुरा बिज्ञप्तिमा उल्लृख गरिएको छ।
असोज २४ गते बसेको सचिवालयको ३८ औं बैठकले यो सहयोगलाई संस्थागत रुपमा स्वीकार गरी गुरुङ दम्पतिलाई सहयोगका निम्ति धन्यवाद समेत दिएको कुरा एमालेले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुको उपस्थितमा असोज २५ गते औपचारिक रुपमा दानबाट प्राप्त जग्गामा भवन उदघाटन गरेको बिषयमा पार्टीभित्र र बाहिरवाट चौतर्फी रुपमा बिरोध भैरहेको छ ।
व्यवसायीहरूको चरित्र नै लाभ लिने प्रकृतिको हुने भएकोले उनीहरूले कुनै लाभ नहुने गरी सहयोग नगरेको बिश्लेषण धेरैको छ । देशकै प्रमुख मानिएको दलले यति ठूलो सहयोग गर्ने व्यवसायीका लागि कुनै न कुनै मूल्य चुकाउनुपर्ने र यसले कालान्तरमा मुलुकको सुशासनमा गम्भीर असर पर्ने जानकारहरुको भनाई छ ।
अर्कोतिर एमालेलाई जग्गा दिएका र भवन बनाइदिने घोषणा गरेका व्यवसायी मीनबहादुर गुरुङ नै सरकारको नजरमा एक ‘अभियुक्त’ हुन् । उनीविरुद्ध सरकारी कागजात किर्ते गरेर बालुवाटारस्थित ललितानिवासको जग्गा आफ्ना नाममा दर्ता गराएको लगायतका आरोपका मुद्दा विभिन्न तहको अदालतमा विचाराधीन रहेका छन् ।
आफूलाई सहयोग गर्नेप्रति नरम व्यवहार गर्नुपर्ने र कहिंकतै बफादारिता देखाउनुपर्ने बाध्यताले सुशासनको प्रत्याभूति हुन नसक्ने कुरालाई बिर्सिएर एमालेले ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गरेको भन्दै बिज्ञप्ति निकाल्न कतिपनि नसुहाउने कतिपय राजनितिक बिश्लेषकहरुको भनाई छ ।

































