काठमाडौं । नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलबाट तयार पारिएको प्रतिवेदनलाई केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले प्रतिवेदनलाई केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको हो ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले कार्यदलको प्रतिवेदन सचिवालयले ग्रहण गरिसकेको र अब केन्द्रीय कमिटीमा छलफल हुने जानकारी दिए । उनका अनुसार कार्यदलले करिब चार महिनाको छलफलपछि तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डासमेत तय गरेको छ । त्यसमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय समावेश छन् ।
कार्यदलको प्रतिवेदनमा नेतृत्वसँग सम्बन्धित विवादित विषयहरू हटाइएको भट्टले बताएका छन् । यसअघि कार्यदलभित्र विभिन्न प्रतिवेदनमा फरक–फरक सुझाव आएपछि त्यसलाई समेटेर साझा प्रतिवेदन तयार गरिएको थियो ।
भट्टका अनुसार कार्यदलको काम पूरा भइसकेकाले अब प्रतिवेदनमा समेटिएका सुझावलाई अनुसूचीसहित केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ । प्रतिवेदनमाथि हुने छलफल र बैठकबाट आउने सुझावका आधारमा पार्टीको आगामी प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु हुँदैछ । सचिवालयले सोही बैठकका लागि आवश्यक एजेन्डा तय गरेको हो ।



































