काठमाडौँ । पछिल्लो एक वर्षभित्र नेपालमा औद्योगिक क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको छ। साउन २०८१ देखि साउन २०८२ सम्मको अवधिमा मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढी पुँजी भएका ११ वटा ठुला उद्योग दर्ता भएका छन्।
यी उद्योगहरूको कुल पुँजी १ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी रहेको उद्योग विभागले जनाएको छ। दर्ता भएका उद्योगमध्ये सबैभन्दा ठूलो लगानी चीनको छेन्दु जियान फुड कम्पनीले स्थापना गर्न लागेको भैँसी मासु प्रशोधन उद्योगमा भएको विभागले जनाएको छ ।
करिब २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित सिन्धुलीको मरिण गाउँपालिकामा स्थापना हुन लागेको यो उद्योग नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी भएको एकल उद्योगका रूपमा रहेको दाबी रहेको छ।
एक सय बिघाभन्दा बढी क्षेत्रफलमा फैलिने यस उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु उत्पादन गर्ने र पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने योजना पेस गरेको छ। यसमा नेपाली कम्पनी हिमालयन फुड इन्टरनेसनलले पनि थप ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। परियोजनाले भैंसीपालन देखि निर्यातसम्मको सम्पूर्ण उत्पादन चक्रलाई समेट्ने र करिब पाँच लाख किसानलाई संलग्न गर्ने योजना बनाएको छ।
त्यसैगरी, पछिल्लो वर्ष दर्ता भएका ९ वटा जलविद्युत् आयोजनामा मात्रै एक खर्ब रुपैयाँभन्दा बढी पुँजी दर्ता भएको छ। तीमध्ये १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजना सबैभन्दा ठूलो मानिएको छ, जसमा ३४ अर्ब ५९ करोड रुपैयाँ लगानी गरिएको छ।
साथै, जगदुल्ला हाइड्रोपावर, समिट इनर्जी, स्नोफल हाइड्रोपावर, हनुमान हाइड्रोपावर, आईबी इनर्जी, बडिगाड र मिडल घुन्सा जलविद्युत् पनि दर्ता भएका ठुला परियोजनाहरू हुन्। त्यस्तै, पूर्ण विदेशी लगानीमा दर्ता भएको सनलाइट इन्डस्ट्रियल ग्रुपले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।
ऊर्जा र कृषि क्षेत्रबाहेक स्वास्थ्य क्षेत्रमा पनि ठुला लगानी भएको छ। काठमाडौँ इन्टरनेसनल हस्पिटल ५ अर्ब ९३ करोड रुपैयाँको पुँजीसहित दर्ता भएको छ, जसले ४६३ जनालाई रोजगारी दिने र वार्षिक तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ।




































