काठमाडौं । स्टार्ट अप उद्यम कर्जाका लागि हालसम्म ६६१ फर्म छानिएका छन् । उद्योग वाणिज्त तथा आपुर्ति मन्त्रालयले कुल आवेदन ५ हजार १५८ बाट ६६१ फर्म छानेको हो ।
मन्त्रालयले ६६१ वटा फर्म स्टार्ट अप कर्जाका लागि छानेर राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेको थियो । जस अनुसार असार मशान्तसम्म ६०० वटा फर्मले ८८ करोड ६६ लाख सहुलियतपुर्ण कर्जा लिएका छन् ।
स्टार्ट अप व्यवसाय वृद्धि गर्न सरकारले विशेष व्यवस्था गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट २०८१र०५र११ मा स्टार्टअप उद्यम कर्जाको लागि सूचना प्रकाशित गरेको थियो ।
सो प्रस्तावमा कुल ५ हजार १५८ परियोजना आवेदन परेको थियो । जसमा प्रारम्भिक मूल्याङ्कनमा १ हजार ३१४ प्रस्तावहरू मात्रै छनौट भएका थिए ।
सो मध्ये १ हजार ७३ प्रस्तावक मात्र व्यावसायिक प्रस्तुतिमा सहभागी भएका थिए । व्यवसायिक प्रस्तुतिको आधारमा ६६१ परियोजना छनोट गरी स्टार्टअप उद्यम कर्जाका लागि कर्जा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकलाई सिफारिस गरेको हो ।


































