काठमाडौँ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले भिन्नाभिन्नै विभिन्न ९ कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।
केही कम्पनीहरूलाई विभिन्न निकायहरूले कालोसूचीमा राख्न भनी पत्राचार भएकोले सोहीअनुसार विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ ।
सुर्खेतको मजदुर कन्स्ट्रक्सन प्रालि लाई तीन वर्षका लागि, काठमाडौँको खम्पाले शेर्पा निर्माण सेवा प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको कम्पनीले जानकारी दिएको छ ।
त्यसै गरी १ वर्ष ६ महिनाको अवधिका लागि कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौँको रुपन्देही विल्डर्स एन्ड कन्स्ट्रक्सन र काठमाडौँकै प्राकृतिक-कश्यप-समिर जेभीलाई कालोसूचीमा राखिएको कार्यालयको जानकारी छ ।
यता एक वर्षको अवधिका लागि विभिन्न चार कम्पनीहरूलाई कालोसूचीमा राखिएको छ । जसमा कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौँको पारस बिल्डर्स एण्ड सप्लायर्स, सुनसरीको प्रभु एण्ड सन्स निर्माण सेवा र गुल्मीको न्यू मालिका निर्माण सेवा रहेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयकारअनुसार यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।



































