काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बीमा व्यवसाय विस्तारसँगै वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीको जीवन बीमा कोष, खुद आर्जित बीमाशुल्क, कुल आम्दानी तथा लगानीबाट प्राप्त आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जीवन बीमा कोष ३५.६१ प्रतिशतले वृद्धि भई १९ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब ३१ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क २३.८५ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ४ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख ४४ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीको कुल आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा कुल आम्दानी ३९.१५ प्रतिशतले बढेर २ अर्ब ३३ करोड ६५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ६७ करोड ९१ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी १७.४३ प्रतिशतले वृद्धि भई ४० करोड ३४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३४ करोड ३५ लाख २७ हजार रुपैयाँ थियो ।
कम्पनीको सञ्चित आम्दानीमा समेत सकारात्मक सुधार देखिएको छ । रिटेन्ड अर्निङ १.३६ प्रतिशतले बढेर ८२ करोड ४५ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ८१ करोड ३४ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
दाबी भुक्तानीमा ३९% वृद्धि
रिलायबल नेपाल लाइफले बीमितलाई गर्ने दाबी भुक्तानीमा पनि वृद्धि गरेको छ । समीक्षा अवधिमा कम्पनीले ४५ करोड ५९ लाख २४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ७२ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीको यस्तो रकम ३९.३१ प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने विपत्ति जगेडा कोषमा २८ करोड ७४ लाख १ हजार रुपैयाँ सञ्चित छ । त्यस्तै, कम्पनीको कमिसन खर्च २०.८७ प्रतिशतले बढेर १६ करोड ५८ लाख २० हजार रुपैयाँ पुगेको छ ।
आम्दानी बढ्दा पनि नाफामा भने दबाब
बीमा व्यवसाय, जीवन बीमा कोष र कुल आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीले २२ करोड ९० लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २५ करोड ८५ लाख २ हजार रुपैयाँ रहेको थियो । यसअनुसार खुद नाफा ११.३९ प्रतिशतले घटेको हो ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १९ रुपैयाँ ९० पैसाबाट घटेर १७ रुपैयाँ ६३ पैसामा झरेको छ ।
समग्रमा, रिलायबल नेपाल लाइफको पहिलो त्रैमासिक वित्तीय विवरणमा जीवन बीमा कोष, बीमाशुल्क संकलन, कुल आम्दानी र दाबी भुक्तानीमा उल्लेख्य वृद्धि देखिएको छ । यद्यपि आम्दानीमा भएको वृद्धिसँगै खुद नाफा र प्रतिसेयर आम्दानीमा भने गिरावट देखिएको छ ।
































