काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले कम्पनीका वार्षिक तथा वित्तीय प्रतिवेदनहरू पारित गर्दै लाभांश वितरणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू पारित गरिएको कम्पनीले जनाएको छ। सभामा प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका छन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको आधारमा ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। साथै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा नगद लाभांश दिने प्रस्तावसमेत सभाले पारित गरेको छ।
कम्पनीका अनुसार सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस शेयर जारी गरिनेछ। बोनस शेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।
सेवा विस्तारतर्फ कम्पनीले देशभर शाखा सञ्जाल बढाउँदै लगेको जनाएको छ। २०८३ साल जेठ मसान्तसम्म कम्पनीले प्रधान कार्यालय र प्रादेशिक कार्यालयसहित १०४ वटा शाखा, उपशाखा तथा तेस्रोपक्ष बीमा काउण्टरमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा शेयरधनीलाई अपेक्षित प्रतिफल दिनुका साथै संस्थागत लक्ष्य हासिल गर्न सम्पूर्ण टोली सक्रिय रूपमा लागिपरेको उल्लेख गरेको छ।


































