काठमाडौँ । चीनको सांघाईमा शुक्रबारदेखि सुरु हुन लागेको विश्व एआई सम्मेलन २०२६ यसपटक असाधारण रूपमा चर्चामा छ। सम्मेलनको उद्घाटन सत्रमा चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रत्यक्ष उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ, जुन यस कार्यक्रमको इतिहासमै पहिलोपटक हो। अघिल्ला संस्करणहरूमा उनले सन्देश पठाएर मात्र सहभागिता जनाउने गरेका थिए।
चीनले कृत्रिम बौद्धिकता क्षेत्रमा आफ्नो क्षमता र प्रभाव विस्तार गर्ने लक्ष्यसहित यो सम्मेलनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको देखिन्छ।
चार दिनसम्म सञ्चालन हुने यस सम्मेलनलाई अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करणका रूपमा प्रस्तुत गरिएको छ। आयोजकका अनुसार ७० भन्दा बढी देश तथा क्षेत्रका प्रतिनिधि, हजारौँ विशेषज्ञ तथा अतिथि, सयौँ प्रदर्शनी स्थल र सयौँ कम्पनीको सहभागिता रहनेछ। सम्मेलन अवधिभर विभिन्न विषयमा केन्द्रित दर्जनौँ छलफल तथा फोरमहरू सञ्चालन हुनेछन् भने ठूलो संख्यामा नयाँ प्रविधि र उत्पादन सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
एआई क्षेत्रमा तीव्र लगानी, स्वदेशमै विकसित प्रविधिको विस्तार र औद्योगिक प्रयोग बढाउने रणनीतिमा अघि बढिरहेको चीनले यस सम्मेलनमार्फत आफ्नो प्रगति विश्वसामु देखाउन खोजेको छ। विश्वका प्रमुख प्रविधि कम्पनी, अनुसन्धान संस्था र नीति निर्माताहरूको उपस्थिति रहने यस कार्यक्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा पनि व्यापक छलफल हुने जनाइएको छ।
अमेरिकासँग बढ्दो प्रविधि प्रतिस्पर्धा र उन्नत चिप प्रवाहमा देखिएका अवरोधबीच चीनले एआई क्षेत्रमा आफ्नो प्रभाव सुदृढ पार्ने प्रयासलाई तीव्र बनाइरहेको छ। पछिल्ला अध्ययनहरूले दुई देशका उन्नत एआई मोडेलबीचको दूरी क्रमशः घट्दै गएको देखाएका छन्। केही क्षेत्रमा अमेरिका अगाडि रहे पनि चीनले अनुसन्धान, पेटेन्ट, कम लागतका मोडेल विकास र औद्योगिक प्रयोगमा उल्लेखनीय प्रगति गरेको छ।
विश्लेषकहरूले राष्ट्रपति सीको सहभागितालाई रणनीतिक सन्देशका रूपमा लिएका छन्। यसले चीनले एआईलाई केवल प्रविधि मात्र नभई राष्ट्रिय प्राथमिकताको मुख्य क्षेत्रका रूपमा अघि बढाएको र अन्तर्राष्ट्रिय नीतिनिर्माणमा पनि प्रभाव बढाउन खोजिरहेको संकेत गरेको उनीहरूको भनाइ छ। –एजेन्सी


































