काठमाडौँ । पछिल्लो केही दिन यता पुँजी बजारमा घटबढको सृङ्खला देखिएको छ । तीव्र रूपमा बढेको बजारमा एक दुई दिन यता करेक्सन देखिन थालेको छ । कारोबारमा गिरावट आएको, नेप्से परिसूचक घट्न थालेको छ । लगानीकर्तामा निराशा बढेको देखिएको छ ।
शेयर बजारको अहिलेको अवस्था लगानीकर्ताको लागि दशैं वा कुनै त्यत्तिकै महत्वको चाडपर्व आएको बराबर हो । लामो समयसम्म लगानीकर्ताको निराशा मडारिएको बादलझै भएको अवस्थामा विश्वास र आशाको किरण परेर फेरि उज्यालो देखे जस्तो, गुम्न लागेको आत्मविश्वासमा फेरि प्राण भरिएको जस्तो हो भन्ने मैले महशुस गरेको छु।
हुन त शेयर बजारको आगामी यात्रालाई व्याख्या गर्न सकिँदैन, यो विषय कुनै ज्योतिसले हात हेरेर कल्पना गरेर भनेजस्तो कल्पना गर्ने वा काल्पनिक विषय पनि होइन यस मानेमा आगामी दिनमा यसको यात्रा यस्तो होला भनेर भन्न सकिँदैन र भन्न मिल्दैन पनि तथापि वर्तमान अवस्था र यसको निमित्त सृजना भएको आवश्यक आधारहरूको आधारमा बजारले गति लिने धेरै बाटोहरू खुला भएको छ।
मेरो पुरानो अनुभवले के भन्छ भने शेयर बजार मात्रै बढेर समग्र अर्थतन्त्रको अवस्था सुध्रिन्छ भन्ने पक्षमा म छैन शेयर बजारले ८ सयको बिन्दुलाई निरन्तर ९० डिग्रीको रफ्तारमा बढ्नु कहीँ न कहीँ जोखिमपनि सँगै छ है भन्ने सम्झनुपर्छ भन्ने लाग्छ यद्यपि मैले बजार बढ्नु नराम्रो भनेर चाहिँ भनेको छैन ।
छोटो समयमा बजारले निकै लामो र अग्लो उचाइमा फड्को मारेको छ । यसको अर्थ यो पनि हो कि बजारले जति धेरै उचाइ लिन्छ त्यति नै दुर्घटना हुने डर हुन्छ किनकि यो लय समाएर उर्लिएको बजार हैन । यो उचाइमा अझै धेरै अपरिपक्वता बाकी छ भन्ने मलाइ लाग्छ । बजारमा तीन चार दिन देखि केही ठुला लगानीकर्ताले न छोड्न सकेको न जोडदार रूपले अगाडि बढेको अवस्था छ । यसले समेत बजारमा ह्वात्तै बढ्ने र एकै पटक ठुलो अंकमा गिरावट आउने प्रक्रिया दोहोरिएको छ।
फेरि बजारको अर्को पक्ष के पनि हो भने देशको प्रधानमन्त्री , पुँजिबजारको अपेक्षित अर्थमन्त्री लगायतका सरोकारवाला व्यक्तिहरूले बजारप्रति दिएको सकारात्मक धारणाका कारणपनी लगानीकर्ताको मनमा उत्साह छाएको छ । शेयर बजारले गति लिएको छ। तर यसो भन्दै गर्दा के चाहिँ भुल्नुहुन्न भने अर्थतन्त्रका अन्य बाटाहरू जस्तै व्यापार ,व्यवसाय उद्यम चौपट पर्ने र शेयर बजार मात्रै बढ्ने भन्ने विषय चाहिँ न देशको लागि फाइदा छ न लगानीकर्ताकै लागि नै ।
निश्चित व्यक्तिको वा समूहको पक्षबाट मात्रै हेरिनुहुन्न हामीले सबैको धरातललाई बुझेर , अवस्थालाई महसुस गरेर यसको सर्वपक्षीय विशेषताा हेर्न जरुरी छ भन्ने मेरो धारणा हो । घरजग्गा कारोबार बढ्न सकेको छैन, सिमेन्ट उद्योगहरू चलायमान हुन सकेको अवस्था छैन। सरकारको ध्यानाकर्षण त्यतातिरपनी मोडिन आवश्यक छ भन्ने मेरो बुझाई र सल्लाह दुुबै हो ।
शेयर बजारको संकटकालीन २,३ वर्षको अवधिलाई हामीले पार गरिसकेका छौ। बजारले एउटा विकल्प खोजेको अवस्था थियो। सबै पक्षमा सुधार आउने अवस्था भएपनि त्यसको विकल्प बन्न सकेको थिएन । संसद्का दुई ठुला दल नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनेसँगै त्यसले बाटो पाएको हो । बजार बढ्दै करेक्सनमा आउँदै फेरि बढ्दै गरेको भए सायद एकै पटक ठुलो अंकमा घट्ने वा बढ्ने हुँदैन थियो त्यसले एउटा परिपक्क बाटो समाउने थियो तर त्यस्तो नभएर एकै पटक बजार उर्लिने गरेको कारण करेक्सन आउँदा ठुलो अंकमा अन्तर देखिने गरेको छ ।
अर्को भनेको शेयर बजारमा अब पहिलेझैँ गिरावटको बाढी आउने अवस्था छैन। सामान्य घटबढको क्रम दोहोरिनु बजारको लागि सुखद पक्ष हो । यसले बजारलाई लयमा ल्याउन सहयोग गर्छ । मलाई लाग्छ बजारले अब २७, २८ सयसम्म झर्ला तर त्यो भन्दा तल ओर्लिने अवस्था देखिदैन् ।
बजारलाई एउटा चुनौती अझै बाकी छ । बजारले जसरिपनी ३२ सयको बिन्दुलाई ब्रेक गर्नुपर्ने चुनौती छ होइन भने त्यो भन्दा तलको अंकलाई करेक्सन मात्रै भन्ने अवस्था छ । लगानीकर्ता साथीहरूलाई म चाहिँ यो समय बैंकिङ क्षेत्रको लगानी सेभ नै होकि भन्ने सुझाव हो साथै यो क्षेत्रमा गर्ने लगानीले बुलमा लैजान वा बजारको रफ्तार बढाउन सहयोग पुर्याउछ भन्ने मलाइ लाग्दछ । अन्ततः यो समय लगानीको लागी बजार उपयुक्त नै हो भन्ने मेरो बुझाई हो । दैनिक रूपमा हुने कारोबार भएको कारणपनी सामान्य अंकको घटबढ हुनु सामान्य हो अहिलेको समयमा बजारमा करेक्सन आउँदै बढ्दै गर्नु सुखद पक्ष हो ।


































