काठमाडौं । पुँजी बजार र वित्तीय क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे बैठक बस्ने तय गरिएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन्।
त्यसैगरी नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठसहित अन्य सरोकारवाला व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र कारोबारको प्रवृत्ति, बीमा क्षेत्रको सुदृढीकरण र नीतिगत सुधारका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ।
































