काठमाडौँ । पछिल्लो समय शेयर बजारमा निरन्तर ओरालो लाग्दा आम लगानीकर्तामा नैराश्यता छाएको छ । बजारले २६ सयको तह पार गर्न प्रयासरत देखिए पनि बढोत्तरी आउन सकेको छैन ।
बैंकको ब्याजदर लगायत शेयर बजारका लागि आवश्यक आधारहरू सकारात्मक हुदैगर्दा समेत शेयर बजारले किन गति लिन सकिरहेको छैन ? शेयर बजारको पर्ख र हेरको अवस्था कहिले पार गर्ला ? नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीसँग आर्थिक भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश
पहिलो कुरा त हाम्रो अर्थतन्त्रको अवस्था अझैसम्म पनि शिथिल नै छ । व्यापार व्यवसाय माथि उठ्न सकेको छैन ।
दोस्रो भनेको कर्जा प्रवाहमा खासै सुधार आएको छैन । राष्ट्रबैंकले केही दिन अगाडि सार्वजनिक गरेको रिपोर्ट हेर्दा पनि शेयर बजारमा बैंक वित्तीय संस्थाले त्यतिविधि लगानी बढाएको देखिदैन् । यता बैंकमा अधिक तरलता कायम छ । राष्ट्रबैंकले नियमित रूपमा तरलता खिचेको अवस्था छ यस्तो समयमा शेयर बजार ओझेलमा पर्नु वा गति दिन नसक्नु सामान्य विषय नै हो भन्ने लाग्छ ।
त्यस्तै, हाम्रो बजार त्यतिविधि फन्डामेन्टल रूपमा चलेको पनि होइन। यद्यपि, कर्जा प्रवाहमा देखिन थालेको सुधार र आम लगानीकर्ता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेको कारण यसले बजारको लय फकाउन सहयोग गर्छ भन्ने मेरो विश्वास हो ।
मौद्रिक नीतिको समीक्षामार्फत बजार अघि बढाउनका लागि थप नीतिगत सहुलियत प्राप्त हुने आशामा लगानीकर्ता बसिरहेका देखिन्छ। सेयर धितो कर्जाको जोखिम भार बढी नै भएको देखिन्छ। यस्तै, व्यक्तिगत लगानीकर्तालाई सेयर धितो कर्जामा १५ करोडको सीमा यथावत् छ। यी कुराहरूमा पनि सहजता र लचकता लगानीकर्ताले खोजिरहेको देखिन्छ आगामी मौद्रिक नीतिले यी कुरा सम्बोधन गर्न सकेको खण्डमा बजारले गति तीव्र बनाउने देखिन्छ ।
अर्को भनेको राष्ट्रबैंकका गभर्नरको बहिर्गमनको चर्चा पनि छ, उहाँले लगानीमैत्री वातावरण निर्माण गर्न नसकेको आरोप पनि छ । यस्तो हल्ला वा सत्यले आम लगानीकर्ताको मनोबल घटाउने र बजारमा भ्रमात्मक समाचार सम्प्रेषण हुन जान्छ जसको कारण पनि बजार विस्थापित भएको देखिन्छ । उहाँको बहिर्गमन पश्चात् बजारले लय समाउने र लगानीकर्ताको आत्मविश्वास बढाउने अपेक्षा राख्न सकिन्छ ।
अर्को भनेको हाम्रो बजारमा सबै लगानीकर्ता परिपक्व छैनन् अझै पनि भ्रम र हो-हल्लाको भरमा कारोबार गर्ने लगानीकर्ता भएको कारण बजारले स्थायी लगानीकर्ता पाउन सकेको छैन । साना लगानीकर्ताले बजारको दीर्घकालीन चरणलाई भन्दा नि छिटो नाफा कमाउने भन्नेमा जोड दिएको देखिन्छ ।
यसले बजारलाई थप विस्थापित गर्न सघाउ पुर्याउछ । शेयर बजारको यात्रालाई एक दिन वा एक हप्ता र महिना दिन हेरेर अनुमान लाउन मिल्दैन । यसको मापन गर्ने तरिका यति छोटो हुनुहुँदैन । लगानीकर्ता जति दीर्घकालीन हुन सक्यो बजार त्यति नै स्थायी हुने हो ।
हालको चुलबुले लगानीकर्ताको उपस्थितिले बजार बढाउन सक्दैन । तथापि बजार अन्ततः घटेर जाने ठाउँ पनि छैन । समग्रमा यसको सुधार क्रमिक रूपमा भएको छ । यसले अब आम लगानीकर्ताको मनोबल उच्च बनाउने गरी बढोत्तरी ल्याउँछ भन्ने मेरो विश्वास छ।
































