काठमाडौं । बिहीबारका दिन (१५ गते) नेप्से २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उक्त दिन शेयर बजारमा उच्च अकले बढोत्तरी आएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारेसँगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । साथै, सबै बैंक समूहको ३ प्रतिशतभन्दा धेरै शेयर बढेको छ ।
तथापि शेयर बजारको यो बढोत्तरी कति दीर्घकालीन ? बजारमा बढोत्तरीको आधार आत्मबल कि तथ्य,आधार ? लगायतको अन्यौलता सृजना भएको छ । यही अन्यौलता आर्थिक भ्वाइसक्रर्मी जसिन्द्र श्रीपालीले लगानीकर्ता तथा विश्लेषकद्धय अनलराज भट्टराई र नीरज गिरीलाई राखेका छन् । प्रस्तुत छ उहाँहरूको धारणाको सम्पादित अंश ।
अनलराज भट्टराई
पहिलो कुरा त हामी असाध्यै हतार मानसिकताको छौ भन्ने लाग्छ । एक दिनको बजारको उतारचढावलाई हेरेर यसको बढाइ घटाइलाई आकलन गर्न सकिदैन् । बजार निरन्तर बढोस भन्ने आम लगानीकर्ताको चाहाना हो तर त्यस्तो पनि हुन सक्दैन बजारमा निरन्तर बढोत्तरी आयो भने त्यसमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । बरु बजारमा सामान्य घटबढ आउँदै अगाडि बढेको निकै सुन्दर मानिन्छ ।
मौद्रिक नीतिको समीक्षाले खासै नीतिगत फेरबदल गरेको छैन । बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारिएको छ । यसले ठूलो प्रभाव पार्ने त होइन यद्यपि बैंकहरुको नाफा बढ्न जाँदा शेयर बजारमा लगानीको वातावरण निर्माण हुने अवस्था बन्छ ।
यसलाइ अझ यसरि पनि मान्न सकिएला कि घुमाउरो पारामा सेयर बजारलाई सपोर्ट पुग्ने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आएको छ। वाणिज्य बैंक समूहमा चमक आउदाँ नेप्सेउरालिएको देखिन्छ । मौद्रिक नीति समीक्षाले बैंकहरुको मुनाफा वृद्धि गर्न सहयोग पुर्याउने देखिएको छ ।
व्याजदर निरन्तर रूपमा घटिरहेको, अधिक तरलता कायम रहेको अवस्थामा शेयर बजारको लागी उपयुक्त वातावरण भएको देखिन्छ । मुख्य कुरा भनेको हाम्रो शेयर बजार 'पर्ख र हेरको' अन्यौलतामा छ भन्ने लाग्छ । एक दिनको बढोत्तरीलाई हेरेर यसको आगामी यात्राबारे यस्तो हुन्छ उस्तो हुन्छ भनेर दाबी गर्ने स्थिति छैन ।
मौद्रिक नीतिको समीक्षाले शेयर बजारमा उलट पुलटको स्थिति ल्याउने कुनै आधार देखिदैन् । यत्ति हो कि बैंकहरुको नाफा वृद्धिमा सहयोग पुग्दा लगानीकर्ताहरूको मनोबल बढेर जान सक्छ। लगानीकर्ताको मनोबलले बजारमा प्रत्यक्ष भूमिका खेल्ने भएको कारण यसले सकारात्मक नतिजा ल्याउला भन्न सकिन्छ ।
बैंकहरुमा पर्याप्त रूपमा लगानीयोग्य रकम छ र ब्याजदर सस्तो रहेकाले त्यसले पुँजी बजारमा सकारात्मक प्रभाव पार्छ । धेरै बैंक वित्तीय संस्थाहरू पुँजी कोष र प्राथमिक पूँजीको हिसाबले आफूले दिन सक्ने शेयर धितो कर्जाको सीमासम्म पुग्नै लागेकाले यस क्षेत्रमा कर्जा विस्तारको कुनै समस्या रहेन। कर्जाको ब्याजदर पनि घटेर ८ प्रतिशत हाराहारीमा ओर्लिसकेको अवस्था छ। यस्तो अवस्थाले शेयर बजारलाई राम्रै गर्ने अर्थ राख्दछ ।
बजारलाई निराशामा पार्ने भएको अनावश्यक हो हल्ला र राजनीतिक परिवर्तनको चर्चाले पनि हो हाल त्यो विषय मत्थर बनेको छ । सरकार परिवर्तनको अफवाह सेलाएको छ । लगानीकर्तामा आत्मबल निरन्तर रूपमा थप हुँदै गएको देखिन्छ यस कारण बजार सकारात्मक लयमा जाने आधारहरू भने खडा भएको छ । तथापि यसले यो बिन्दुमा पुग्छ यति पुग्छ भन्ने अवस्था छैन । समग्रमा यो पर्ख हेर र उपयुक्त कम्पनीमा लगानी गरेको अवस्था हो भन्ने मलाइ लाग्दछ ।
मुख्य कुरा बजारमा बढ्ने र घट्नेको दबाबमा छ , उत्पादनमा जोड नदिनुको विकल्प छैन । आयातित भएको कारण हाम्रो अर्थतन्त्र सुस्ताएको छ । सुस्ताएको अर्थतन्त्रले बजारलाई गतिमा ल्याउन सक्दैन यसकारण मुख्य कुरा आत्मनिर्भर हुन जरुरी छ भन्ने मेरो धारणा हो ।
नीरज गिरी
नेप्से परिसूचकले २८ सयको बिन्दु पार गर्नु आम लगानीकर्ताको लागी सुखद पक्ष हो। हाम्रो चाहाना नै बजारमा निरन्तर सुधार आओस् , बढोत्तरी नै होस् भन्ने हुन्छ तर त्यस्तो मात्रै पनि होइन । बजारमा आउने घटबढ नै बजारको विशेषता हो ।
मुख्यतया एक दिनको बजारको बढोत्तरीलाई हेरेर यसको आगामी यात्रा र दूरी मापन गर्न सकिदैन् । यस अगाडि पनि एक दिन बढ्ने अर्को दिन घट्ने क्रम चल्दै आएको हो । बजार अहिले पनि साइडवेयज मुभमेन्ट मै छ । अर्को भनेको हाम्रो बजार हल्लाको भरमा पनि चलेको छ ।
केही दिन अगाडि आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बैंकहरूको नाफामा सघाउ पुर्याउनेगरी आएको छ । तैपनि हाम्रो अर्थतन्त्र लयमा आउन सकेको अवस्था छैन । राज्यको उच्च तहका बहालवाला प्रधानमन्त्री,अर्थमन्त्रीले नै हाम्रो अर्थतन्त्र समस्यामै छ, सुधारको निमित्त प्रयास भइरहेको छ भन्ने कुरा स्विकार्दै आउनुभएको छ ।
शेयर बजारको मुटु भनेको देशको अर्थतन्त्र नै हो यसमा नै समस्या भएको कारण बजारले यो गतिमा सुधार आउँछ भन्ने दाबी गर्न सकिदैन् । बजार २५ सय माथि र २८ सय तलको बिचमा रुमलिएको छ । यसले गति बढाउन पनि सक्छ र घटाउन पनि हाल बजार पर्ख र हेर कै अवस्थामा छ भन्ने मेरो बुझाई हो । बजारलाई थप केही दिन आकलन गर्न आवश्यक छ ।
नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरू मध्येमा २४ लघुवित्त कम्पनीहरूको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको छ। पछिल्लो समय बैंकहरुको ब्याजदर बढ्दा त्यसको सकारात्मक प्रभाव कम्पनीहरूको खुद ब्याज आम्दानीमा देखिएको छ । यसले पनि शेयर बजारलाई सकरामतक प्रभाव पार्ने देखिन्छ ।
हावा र हल्लामा लगानी गर्नेहरूका लागि सरकार र राष्ट्र बेंकले जस्तो नीति ल्याए पनि सेयर बजार सुरक्षित ठाउँ हैन। हो हल्ला फिँजाएर चलेको बजारले कति बेला दुर्घटना बनाउँछ हेक्का हुँदैन । एकै दिन बजारको चमक देखेर लगानीकर्ता हौसिन हुँदैन भन्ने मेरो धारणा हो ।
शेयर बजारलाई धेरै उत्साहित पार्ने नीति सरकार, नियमनकारी निकाय र राष्ट्र बैंकले नल्याउँदा पनि कयौँ कम्पनीका शेयर मूल्यहरू निरन्तर बढेकै छन्। साना मात्रै हैन, ठूला कम्पनीको मूल्य उचाल्न पनि कयौँ खेलाडीलाई कुनै नीतिगत परिवर्तन आवश्यक परेको देखिएन।
सरकारको बजेट र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट शेयर बजार प्रभावित हुन्छ तर त्यसबाट बढी आस गर्ने र निराश हुने प्रवृत्तिबाट हामी लगानीकर्ता मुक्त भएर आफ्नो सही रणनीति निर्माण गर्ने र जोखिम बहन क्षमता बलियो बनाएर सही कम्पनी छनौट गरी लगानी गर्ने कुरामा बढी केन्द्रित हुन जरुरी छ भन्ने मेरो बुझाई हो ।
































