काठमाडौँ । पछिल्लो दुई कारोबारका दिन शेयर बजारमा लगातार हरियाली छाएको छ । बजारमा आएको रौनकताले आम लगानीकर्ताको मनोबल उच्च बनाएको छ । उसो त आइतबार सामान्य बढेको शेयर बजार साताको दोस्रो कारोबारका दिन सोमबार २७ सयको बिन्दुमा प्रवेश गरेको छ ।
बजार उकालो लागेसँगै यो बढोत्तरी निरन्तर रूपमा कायम रहने केही विश्लेषकहरूको भनाई छ ।
मुख्य कुरा अहिले सबै सेक्टर सबै चलायमान भएको अवस्था छ । हाइड्रो पावर, फाइनान्स र लो क्यापबाट मोबाइल बैंकहरु चलायमान भएसँगै बैंकको शेयर सस्तो पर्न गर्यो । यसले लगानीकर्तामा बैंशाख ज्येष्ठसम्म यसको भाउ पनि बढ्छ र हाल किन्दै गएर बरु लोनमा पठाउने र २,३ महिनापछि राम्रो आउँछ भन्ने विश्वास बढाएको देखिन्छ । यो सेक्टरमा जोखिम कम भएको कारण बैंकमा लगेर लोन राख्दा समेत ७० प्रतिशतसम्म पाइने भएको कारण बैंकिङ सेक्टरमा लगानीकर्ता होमिएको देखिन्छ ।
अर्को भनेको बैंकहरुमा कर्जा प्रवाहमा वृद्धि हुँदै गएको छ । लगानी थपिँदै जाँदा रिकभरी गर्नका लागि बैंकले बलजोड गरेको देखिन्छ । यो वर्ष मात्रै हैन गत वर्ष पनि बैंकहरुले राम्रो लाभांश बाँड्न सकेका थिएनन् तर अर्को वर्ष राम्रो वितरण गर्ने निश्चित वातावरण बनेको छ । यसले पनि लगानीकर्ता झुम्मिएको देखिन्छ ।
अहिले लगानीकर्ताहरूले हाइड्रोमा भएको लगानी समेत बेचेर बैंकिङ सेक्टरमा लगानी गरेको देखिन्छ । अर्को भनेको हामी मौद्रिक नीतिको समीक्षाको मुखैमा छौ । यसले पक्कै लगानीकर्ताको लागी सकारात्मक खबर बोकेर ल्याउने निश्चित जस्तै छ यसकारण पनि यो क्षेत्रमा आम लगानीकर्ताको मोह बढेको देखिन्छ । गभर्नरको बहिर्गमन र सम्भवतः अन्तिम कार्यकाल भएकै कारण पनि उहाँले अन्तिममा केही राम्रो प्रभाव छोडेर जाने सम्भावना देखिन्छ यसकारण पनि आम लगानकर्ताको उत्साहमा बढोत्तरी आएको मान्न सकिन्छ किनकि त्यसको प्रभाव अहिलेको बजारमा बैंकिङ सेक्टरमा देखिँदै आएको छ ।
त्यस्तै, बैंकको ब्याजदर न्यून छ यसले बजारमा लगानी गर्न प्रशस्त स्रोत दिन सक्छ । बजारमा पोजेटिभ सेन्टीमेन्ट विकास भएको देखिएको छ । यसले बजार बढोत्तरीमा सघाउ गर्छ सेयर बजार अघि बढ्नका लागि अहिले प्रायः सबै पक्षले साथ दिँदै गएको छ । ब्याजदर निकै न्यून विन्दुमा आएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । यसअघि कसिएका नीतिनियमहरु क्रमशः खुकुलो हुँदै गएका छन् ।
सेयर बजार बियरिस ट्रेन्डमा वर्षौसम्म चल्यो । निरन्तर घट्दा अधिकांश कम्पनी त्यसमा पनि लार्ज क्यापका कम्पनीको सेयर मूल्यहरु निकै सस्तो भएका छन् । यी कारणहरूले गर्दा अब बजारले गति लिने नै देखिन्छ । केन्द्रीय बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिकपछि अझै पनि नीतिहरू खुकुलो बन्ने विश्वास आम लगानीकर्तामा कायम छ ।
लाभांश क्षमता राम्रो भएका, कम्पनीको सुशासन पक्ष सबल रहेको तथा लार्ज र मिडियम क्यापका कम्पनीहरूतर्फ सिफ्ट हुने तयारीमा रहेको देखिन्छ । गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक समीक्षा हुने भएकाले पनि कस्तो आउँछ रु भन्ने तीव्र जिज्ञासा र कौतुहलता लगानीकर्तामा छ ।
त्यसो त यसअघि नै कसिएका धेरै नीति नियमहरु खुकुलो भइसकेका छन् । तर अझै पनि सेयर धितो कर्जाको जोखिमभार बढी छ । यस्तै, व्यक्तिगत लगानीकर्तालाई सेयर धितो कर्जामा १५ करोडको सीमा यथावत् छ । यी कुराहरुमा समेत थप लगानीकर्ताले सहजता खोजिरहेको देखिन्छ ।
यसैगरी, बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन लगानी गर्न पाउनुपर्ने माग गरिरहेका छन् । अहिले १ वर्षभन्दा कम अवधिका लागि सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । यी मागहरु पूरा भएमा बजारले नयाँ उचाई लिन सक्ने धेरैको विश्वास रहेको छ ।
































