काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने सर्वसाधारणका लागि हिम पर्वत हाइड्रोपावर लिमिटेडले ३४ लाख ६४ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले मंसिर १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न लागेको हो। यसअघि जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले कर्मचारीका लागि भने १ लाख २६ हजार ७५० कित्ता सेयर सुरक्षित राखेको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा मंसिर २३ गते र ढिलोमा पुस ३ गते बन्द हुनेछ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
हिम पर्वत हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाबाट क्रमशः २०८२ असोज २५ र साउन ८ गतेदेखि विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।


































