काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले जेठ २८ देखि असार २ गतेसम्म खुला गरेको निष्कासनको बाँडफाँड आज ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा गरिएको हो।
बिक्री प्रबन्धकका अनुसार आईपीओमा अत्यधिक आवेदन परेपछि बाँडफाँड प्रक्रिया गोलाप्रथा (लटरी) विधिबाट गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता शेयर सर्वसाधारणका लागि उपलब्ध गराएको थियो।
यसमा कुल २८ लाख ९४ हजारभन्दा बढी आवेदन परेकोमा करिब २८ लाख ५० हजार आवेदन स्वीकृत भएका छन् भने ४४ हजारभन्दा बढी आवेदन विभिन्न कारणले रद्द भएका छन्।
स्वीकृत आवेदकमध्ये ७० हजार ५५० जनाले मात्र १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकले शेयर पाउन सकेनन्।
लगानीकर्ताले आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सक्नेछन्।


































