काठमाडौँ । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उच्च अदालत पाटन र विशेष अदालतले दिएको थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै गत असार ५ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासबाट भएको थियो ।
त्यसैगरी, विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा २६ अर्ब ६३ करोडभन्दा बढी बिगो कायम गर्दै असार ३ गते थुनामा पठाउने आदेश दिएको थियो । सो इजलासमा अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सहभागी थिए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टसँगै शंकर समूहसँग सम्बन्धित सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई पनि प्रतिवादी बनाइएको छ । सन्दीप चाचन दलाल नम्बर ५५ का अध्यक्ष हुन् ।
हिमालयन रि–इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो । यसै मुद्दामा अनुसन्धानका लागि दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण विभागले २०८२ चैत १९ गते पक्राउ गरेको थियो ।

































