काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै कर प्रणालीलाई थप प्रभावकारी बनाउन तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्न बीजक लिने–दिने संस्कृतिको विकास आवश्यक रहेको जनाएको छ।
विभागका अनुसार कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिदको बीजक अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था रहेको छ। त्यसैले वस्तु तथा सेवा खरिद गर्दा प्रत्येक उपभोक्ताले अनिवार्य रूपमा खरिद बीजक लिन विभागले अनुरोध गरेको छ।
त्यसैगरी, हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिएर कर प्रणालीमा आबद्ध हुन विभागले निर्देशन दिएको छ। साथै, सबै व्यवसायीले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बीजक जारी गर्नुपर्ने व्यवस्था पालना गर्न पनि विभागले आग्रह गरेको छ।
विभागले बीजक लिने–दिने अभ्यासले कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उपभोक्ता र व्यवसायी दुवैलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आह्वान गरेको छ।

































