काठमाडौँ । सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय गरिएको छ।
यसअघि व्यापारी दीपक भट्टसँगको व्यापारिक सम्बन्ध र लगानीसम्बन्धी विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीबारे प्रश्न उठेपछि उनी दबाबमा परेका थिए।
आरोपपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए, जहाँ उनी २६ दिन मात्र पदमा रहेका थिए।
त्यसपछि मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए।
समितिले करिब ४५ पृष्ठको प्रतिवेदनमार्फत गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। उनको सम्पत्ति र लगानीलाई वैध ठहर गर्दै प्रतिवेदनले देखिएका केही अस्पष्टतालाई प्रणालीगत कमजोरीका रूपमा व्याख्या गरेको छ।

































