काठमाडौँ । सरकारले मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले ऊर्जा, प्रशासनिक सुधार र संस्थागत व्यवस्थापनसँग सम्बन्धित चार प्रमुख निर्णयहरू अनुमोदन गरेको हो ।
बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ। अनुमति पाउने आयोजनामा तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् परियोजना रहेका छन्।
त्यसैगरी, निजामती सेवा नियमावली (सोह्रौँ संशोधन) २०८१ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यस संशोधनलाई प्रशासनिक सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, पूर्व गृह मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुदन गुरुङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन सरकारमा पेस भएको र हाल त्यसलाई ग्रहण मात्र गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए। उनका अनुसार प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय लिइनेछ ।
प्रवक्ताले काठमाडौँमा मेट्रो र मोनोरेल परियोजनाको सम्भाव्यता अध्ययन जारी रहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै कटौती नगरिने स्पष्ट पारे ।

































