काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.४५ अंक घटेर २ हजार ६९० अंकमा झरेको हो।
अघिल्लो कारोबार दिन नेप्से ३१ अंक बढेर २ हजार ६९५ अंकमा पुगेको थियो।
परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ। शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो गत वैशाख ३ गतेयताकै उच्च कारोबार हो। उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। अघिल्लो दिन ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको थियो।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य बढ्दा १६९ वटाको घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
समूहगत परिसूचकमा विकास बैंक समूह सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ। निर्जीवन बीमा ०.३०, व्यापार ०.२५ र अन्य समूह ०.१५ प्रतिशतले उकालो लागेका छन्।
यता बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूह भने घटेका छन्। यी समूहको गिरावट क्रमशः ०.४४, ०.४७, ०.२३, ०.५७, ०.२२, ०.१६, ०.३८ र ०.१२ प्रतिशत रहेको छ।
शुक्रबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै स्वाभिमान लघुवित्तको १२.११ प्रतिशत, लुम्बिनी विकास बैंकको ७ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशतले मूल्य बढेको छ।
यसैगरी सप्तकोशी विकास बैंक, मेरो माइक्रोफाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा पनि वृद्धि भएको छ।
घट्ने कम्पनीमध्ये मेन्छियाम हाइड्रोपावरको मूल्य ४.०८ प्रतिशतले ओरालो लागेको छ। सुपर खुदी हाइड्रोपावरको ३.७८ प्रतिशत र सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोनापुर मिनरल्स अगाडि रहेका छन्।


































