काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा सम्झौताअनुसार काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीमाथि सरकारले कारबाही गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
कार्यालयका अनुसार निलगिरी निर्माण सेवा प्रालि, काठमाडौं र लुम्बिनी इन्जिनियरिङ वर्क्स प्रालि, बुटवललाई ३/३ वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै, हरिहरि–शर्मिला जेभी, घोराही दाङलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसैगरी, विन्ध्यवासिनी निर्माण सेवा, गोरखा, अनुपमा निर्माण सेवा, गोरखा र सौरभ कन्स्ट्रक्सन, इटहरीलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
विभिन्न सार्वजनिक निकायको सिफारिसमा कार्यालयले यस्तो निर्णय गरेको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया तथा ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन्।



































