काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ मात्रै पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट त्यसविरुद्ध लड्ने बताएका छन् ।
मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूले पाएको मन्त्री पदलाई सत्ता वा सुविधाका रूपमा नभई जिम्मेवारीका रूपमा लिएको बताए ।
उनले जेनजी आन्दोलनका क्रममा आफूहरूले खोजेको परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी अहिले आफूहरूको काँधमा आएको उल्लेख गरे । मन्त्रीको कुर्सीमा आफू मात्र नभई आन्दोलनमा सहभागी प्रत्येक नागरिक रहेको अनुभूति गरेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौँ, त्यो कुर्सी जुन मलाई दिइएको छ, त्यो जिम्मेवारी हो,’ गुरुङले भने, ‘त्यो कुर्सीमा तपाईं नै हुनुहुन्छ भनेर सोच्नुपर्यो ।’
गृहमन्त्री गुरुङले आफू इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने बताए ।
‘इमानदारीका साथ छाती चौडा बनाएर, शीर उच्च बनाएर म भन्न सक्छु, एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ,’ उनले भने ।
उनले जेनजी आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका मुद्दालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आफू त्यसका लागि प्रतिबद्ध रहेको संकेत गरेका छन् ।

































