वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसँगको सीमा कुनै पनि स्थानमा नमिचेको स्पष्ट पारेका छन्।
वीरगन्जमा रिपोर्टर्स क्लब पर्साले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले सीमा विवादबारे नेपालतर्फबाट अतिक्रमण भएको भन्ने दाबीलाई अस्वीकार गरे। उनले आफ्नो कार्यकालमा पनि भारत सरकार वा भारतीय परराष्ट्र मन्त्रालयबाट नेपालले भारतीय भूमि मिचेको कुनै आधिकारिक आरोप नआएको बताए।
प्रधानमन्त्रीले नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने किसिमको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै यादवले त्यसलाई आधारहीन भएको टिप्पणी गरे।
यादवले यदि त्यस्ता दाबीहरू गरिन्छन् भने ऐतिहासिक दस्तावेज, नक्सा र प्रमाण सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।
फरक प्रसंगमा उनले पछिल्लो निर्वाचनले जसपा नेपाललाई सरकारबाहिर रहेर संघर्ष गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको अवसर प्राप्त भएको धारणा राखे। जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई उनले सुझाव पनि दिए।
त्यसैगरी, उनले मुलुकको दीर्घकालीन राजनीतिक स्थायित्वका लागि संविधान संशोधन अपरिहार्य रहेको बताए। वर्तमान संविधानका कमजोरी सच्याएर मात्र प्रभावकारी शासन प्रणाली निर्माण गर्न सकिने उनको भनाइ थियो।


































