काठमाडौं । सरकारले नेपाली गलैँचा उद्योगलाई आधुनिक प्रविधि, गुणस्तर र ब्रान्डिङमार्फत विश्व बजारमा पुनः स्थापित गर्ने उद्देश्यले ‘गलैँचा निर्यात : राष्ट्रिय रणनीतिक कार्ययोजना २०८३–२०८८’ सार्वजनिक गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत गरेको कार्ययोजनाले आगामी पाँच वर्षमा गलैँचा उत्पादन, निर्यात क्षमता र प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य राखेको छ । सरकारले वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ ।
हाल नेपाली गलैँचा ७३ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ भने यस क्षेत्रले करिब ३ लाखलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ ।
कार्ययोजनाले आधुनिक प्रविधिको प्रयोग, गुणस्तर प्रमाणीकरण, सामूहिक ट्रेडमार्क निर्माण, नयाँ अन्तर्राष्ट्रिय बजार विस्तार र संस्थागत सुधारलाई मुख्य रणनीतिका रूपमा अघि सारेको छ ।
सरकारले नेपाली गलैँचाको मौलिक पहिचान कायम राख्दै डिजिटल बजार, ई–कमर्स र वातावरणमैत्री उत्पादनमार्फत विश्व बजारमा प्रतिस्पर्धी बनाउने योजना बनाएको छ ।

































