काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभावको मुख्य कारण माग अचानक बढ्नु रहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार देशको मासिक ग्यास खपत करिब ४०–४५ हजार मेट्रिक टन भए पनि पछिल्लो समय माग बढेसँगै आपूर्तिमा दबाब परेको हो।
उनले ७.१ केजी ग्यास वितरण भइरहेको समयमा खपत घटेकाले आपूर्तिमा समस्या नदेखिएको बताए।
अहिलेको समस्या समाधानका लागि निगमले ग्यास उद्योगी र बिक्रेतामार्फत तत्काल आवश्यक पर्ने उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न निर्देशन दिएको छ। साथै आपूर्ति सन्तुलन गर्न थप ग्यास आयातका लागि प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए।
साउन १ देखि १८ गतेसम्म करिब ३२ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको निगमले जनाएको छ। तर आयात गरिएको ग्यास तुरुन्तै बजारमा पर्याप्त रूपमा पुग्न समय लाग्ने उनले बताए।
ग्यास अभावको बढी मार एक मात्र सिलिण्डर प्रयोग गर्ने, विद्यार्थी तथा निम्न आय भएका वर्गमा परेको उल्लेख गर्दै निगमले केही ग्यास उद्योगका काउन्टर टेकुमा सञ्चालनमा ल्याएको छ, जहाँबाट उपभोक्ताले सिधै ग्यास लिन सक्ने व्यवस्था गरिएको छ।
उद्योगबाट सिधै ग्यास खरिद गर्दा पनि खुद्रा मूल्यमै किन्नुपर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। यद्यपि निगमको प्राथमिकता हाल आपूर्ति सहज बनाउनेमा केन्द्रित रहेको ठाकुरले बताए।
निगमले दशैं–तिहारअघि ग्यास आपूर्ति सहज हुने दाबी गर्दै भारतसँग समन्वय गरी मागअनुसार लोडिङ भइरहेको जनाएको छ। साथै घरमा पहिले नै ग्यास भण्डारण गरेर बस्ने उपभोक्तालाई लाइनमा नलाग्न आग्रह गरिएको छ, जसले गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सकिने निगमको भनाइ छ।
आवश्यकताअनुसार मात्रै खरिद गर्न आग्रह
नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। विभिन्न सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार सार्वजनिक भएपछि निगमले प्रेस विज्ञप्ति जारी गर्दै आपूर्ति नियमित रहेको जनाएको हो।
निगमका अनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था लागू भइसकेको छ भने दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको छ। बजारमा अभावको गुनासो आएपछि निगमले ग्यास उद्योग र वितरकलाई सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।
निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राख्दै व्यवस्थित रूपमा ग्यास वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा दीर्घरोगीलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा बढ्दो मागलाई मध्यनजर गर्दै निगमले आफ्नो टेकुस्थित कार्यालयबाट समेत नेपाल ग्यास, एचपी ग्यास, एसएस ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
निगमका अनुसार एलपी ग्यासको आयात र वितरण नियमित रहेको छ। मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत हुने नेपालमा हाल मागअनुसार नै आपूर्ति भइरहेको र आवश्यक परे चालु महिनाको आयात परिमाण समेत बढाउन सकिने व्यवस्था गरिएको छ।
श्रावण १ देखि ८ गतेसम्म मात्रै ३१ हजार ६९६ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको उल्लेख गर्दै निगमले आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। त्यसैले उपभोक्ताले हतारमा वा अनावश्यक रूपमा ग्यास खरिद गरेर भण्डारण नगर्न निगमले आग्रह गरेको छ।
त्यसैगरी, काठमाडौं उपत्यका बाहिर ग्याससम्बन्धी कुनै समस्या वा गुनासो भए सम्बन्धित प्रदेश तथा शाखा कार्यालयमा सम्पर्क गर्न र उपत्यकाभित्र समस्या परे निगमको हटलाइन नम्बर ०१–५३५११०२ मा कार्यालय समयभित्र सम्पर्क गर्न पनि निगमले अनुरोध गरेको छ।































