काठमाडौँ । सुन तस्करी प्रकरणमा सहकर्मी पक्राउ गरेको भन्दै विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका हुन् ।
भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास बन्द गराएका छन् ।
आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले जारी गरेको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए ।
विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास बन्द गरिएको हो ।
कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् । भन्सार ऐन, २०६४ को दफा ६६ मा रहेको ‘कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको कामकारबाही प्रति निज व्यक्तिगत रूपमा जबाफदेही हुनेछैन’ भनिए पनि सुन प्रकरणमा व्यक्ति विशेषलाई जबाफदेही बनाइएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।
कर्तव्य पालनाको क्रममा खटिएका कर्मचारीलाई धरपकड गरी दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने काम गरेको भन्दै कर्मचारीको मनोबल गिरेको र आत्मसम्मानमा ठेस पुगेको कर्मचारीको गुनासो छ । प्रहरी र अन्य निकायबाट निरन्तर हस्तक्षेप र धरपकड भएको भन्दै उक्त कार्य पूर्णरुपमा बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
कर्मचारीहरूले राजस्व असुलीको असल नियतले भन्सार ऐन, नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने, कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा राख्दा के–कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिएको भन्दै अमानवीय तरिकाले गिरफ्तार गरी राख्ने कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने माग गरेका छन् ।
पक्राउ गरिएका कर्मचारीको गोपनीयताको हक सुनिश्चित नभएको र वैयक्तिक विवरण सार्वजनिक भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
याे पनि :
https://aarthikvoice.com/archives/12345

































