काठमाडौँ । हालै मात्र सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विरोध जनाउने र समर्थन गर्नेको जुहारी अझै रोकिएको छैन ।
चिनिया मनोरञ्जन एप टिकटक प्रतिबन्धको विरोधमा सडकमा प्ले-कार्ड नै प्रदर्शन गरियो सर्वोच्च अदालतमा शुक्रवार मात्रै १० वटा मुद्दा परेका छन् । नेपाल रकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको कुरा नयाँ भने होइन अथवा सरकाले टिकटक माथि मात्रै प्रतिबन्ध लगाएको भने छैन ।
हालसम्म ५ लाखभन्दा धेरै एप तथा वेबसाइटहरू प्रतिबन्धको सूचिमा छन् ।
त्यसमध्येमा ‘पोर्नोग्राफी’ अर्थात् यौनजन्य एवम् अश्लील सामग्रीहरू प्रस्तुत गर्ने वेबसाइट र मोबाइल एप्लिकेशनहरु सबैभन्दा पहिले प्रतिबन्ध गरेको थियो । त्यसयता दूरसञ्चार प्राधिकरणले एप तथा वेबसाइटको निरन्तर अनुगमन गर्दै आएको छ ।
क्रिप्टोकरेन्सी, अनलाइन जुवा र डिजिटल नेटवर्किङसँग सम्बन्धित सय वटाभन्दा धेरै वेवसाइटहरुलाई पनि नेपालमा प्रतिबन्ध लगाइसकिएको छ ।दर्ता नभएका समाचार पोर्टलहरू पनि प्रेस काउन्सिलको सिफारिसमा बन्द गरिएका छन् । यस्ता वेबसाइटको सङ्ख्या एक सय हाराहारी रहेको छ ।
चिनियाँ अनलाइन गेम पबजीमाथि पनि सरकारले यसअघि प्रतिबन्ध लगाएको थियो । यो मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । नेपालभित्र हुने कुल इन्टरनेट खपतको करिब ३० प्रतिशत हिस्सा टिकटकमा मात्रै खपत भइरहेको थियो ।
यसले इन्टरनेट सेवा प्रदायकहरूको व्यापारमा ठुलो धक्का लागेको छ ।टिकटकलाई नाम र दाम कमाउने ‘प्लेटफर्म’को रूपमा पनि धेरैले उपयोग गर्दै आएका थिए । यस्ता हजारौं नेपालीलाई पनि टिकटक बन्द हुँदा असर पर्ने संभावना छ । तर नियामक निकायले भने यस एपमाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने कोसिस गरिरहेको छ ।
काठमाडौँको जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय । प्राधिकरणले हालै मात्र सूचना प्रकाशित गरेर कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीले टिकटक एप सञ्चालन गर्न दिइरहेको थाहा पाएमा खबर गर्न अनुरोध गरेको छ ।
गत सोमबार मन्त्री परिषद्ले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ भनेर टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यससँगै नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
तर कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त निर्देशन अस्वीकार गरेको भन्ने जानकारी आएपछि प्राधिकरणले गत शुक्रबार अनुगमन समिति नै गठन गरेको छ । प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति गठन भएको छ ।
समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था ९आईस्पान०का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधी सदस्य रहने छन् भने प्राधिकरणकै उपनिर्देशक रोजा किरण बासुकला सदस्यसचिवको भूमिकामा रहने छिन् ।
नेपालमा १३०को हाराहारीमा इन्टरनेट सेवा प्रदायकहरू छन् । यसमध्ये अत्यधिक बजार हिस्सा ओगट्ने ३५ कम्पनीले तुरुन्तै बन्द गरे पनि केही साना कम्पनीहरूले निर्देशन पालना नगरेको बताइएको छ ।
अहिले संसारभर प्रमुख सामाजिक सञ्जालमध्ये मासिक सक्रिय प्रयोगकर्ताको हिसाबले टिकटक चौथो नम्बरमा छ । फेसबुकका सक्रिय प्रयोगकर्ता २ अर्ब ९० करोड, युट्युबका २ अर्ब २० करोड, इन्टाग्रामका १ अर्ब ४० करोड र टिकटकका १ अर्ब सक्रिय प्रयोगकर्ता छन् । स्न्यापच्याटको ७५ करोड, पिनटेस्टको ४८ करोड र ट्वीटरको ३० करोड सक्रिय प्रयोगकर्ता छन् ।
अफगानिस्तान, इरान, किर्गिस्तान र सोमालियाले पनि टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपेली संघ, फ्रान्स, लात्भिया, न्यूजिल्याण्ड, नर्वे, ताइवान, बेलायत र अमेरिकाले पनि आंशिक प्रतिबन्ध लगाएका छन् ।


































