काठमाडौं । साताको कारोबारको क्रममा बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेसँगै कारोबार रकमसमेत उल्लेख्य वृद्धि भएको छ।
बुधबार २४१ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारमा कुल ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिन मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको थियो। बुधबारको कारोबार रकम भदौ ३० गतेयताकै उच्च हो।
जलविद्युत् समूहमा सबैभन्दा धेरै वृद्धि
बुधबारको कारोबारमा जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको सूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ।
व्यापार समूहबाहेक सबै समूहगत सूचकमा वृद्धि भएको छ। व्यापार समूहको सूचक भने ०.४४ प्रतिशतले घटेको छ।
बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत र लगानी समूह १.५२ प्रतिशतले बढेका छन्।
त्यस्तै, जीवन बीमा समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६६ प्रतिशत, माइक्रोफाइनान्स ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले उकालो लागेका छन्।
बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो
बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। बुटवल पावर कम्पनीको मूल्य १०.६० प्रतिशतले बढ्दा सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशतले वृद्धि भएको छ।
यस्तै, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत, सान्जेनको ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत र होटल फरेस्ट इनको सेयर मूल्य ५.४१ प्रतिशतले बढेको छ।
घट्ने कम्पनीमध्ये सिर्जनशील लघुवित्तको सेयर मूल्य २.३० प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले मूल्य घटेको छ।
कारोबारमा लिबर्टी इनर्जी अगाडि
बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। त्यसपछि घलेम्दी हाइड्रोपावर, बुटवल पावर कम्पनी, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक क्रमशः अगाडि रहेका छन्।


































