काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५ अंकमा पुगेको छ। बजारमा १५८ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
दिनभर बजारमा उतारचढाव न्यून देखिएको थियो। कारोबारका क्रममा दिउँसो १ बजेर ७ मिनेटमा नेप्से अधिकतम २ हजार ६६१ अंकसम्म पुगेको थियो। तर अन्तिम समयमा केही अंक घट्दै बजार २.६४ अंकको सामान्य वृद्धिमा बन्द भएको हो।
बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत परिसूचकतर्फ अन्य समूहबाहेक सबै समूहमा हरियाली देखिएको छ। बैंकिङ समूह ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५ र लगानी समूह ०.२३ प्रतिशतले बढेका छन्।
त्यस्तै जीवन बीमा समूह ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेका छन्। अन्य समूह भने ०.८८ प्रतिशतले घटेको छ।
शुक्रबार क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८ र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य २.९० प्रतिशतले बढेको छ।
घट्ने कम्पनीतर्फ घोराही सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ। नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७० र गुराँस लघुवित्तको २.६४ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ। त्यसपछि स्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन्।


































