काठमाडौं । तिहार बिदापछि एक साताको अन्तरालमा खुलेको सेयर बजार पहिलो कारोबार दिनमै सामान्य अंकले घटेको छ। शुक्रबार नेप्से परिसूचक ६.४८ अंकले घटेर २६४८.७४ विन्दुमा झरेको हो।
आज कारोबारमा आएका कम्पनीमध्ये १६० वटाको सेयर मूल्य घटेको छ भने १०९ वटाको मूल्य बढेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
शुक्रबार ३३५ स्क्रिप्टको ३१ हजार ३०४ पटक कारोबार हुँदा ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर किनबेच भएको छ। यस दिन कुल ३ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत नाफा कमाएका छन्। यसको विपरीत क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अन्य कुनै पनि कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ पुगेन।
समूहगत परिसूचकतर्फ विकास बैंक, होटल, हाइड्रोपावर र निर्जीवन बीमा समूहमा वृद्धि भएको छ भने बाँकी समूह घटेका छन्। सबैभन्दा धेरै गिरावट अन्य समूहमा देखिएको छ। उक्त समूहको परिसूचक ०.९४ प्रतिशतले घटेको छ।


































